नेपालमा संगीत दरबार

image
June 2, 2025, 9:18 p.m.

("संगीत सरिता" पत्रिकामा वि.स. २०२७ मा प्रकाशित आलेख "नेपालमा संगीत दरबार" दीलीपकुमार मुखोपाध्यायले टि.एल. राणा (त्रैलोक्यशम्शेर राणा)को सहयोगमा तयार पार्नु भएको थियो। यसलाई हरिभक्त कटुवालले नेपालीमा अनुवाद गर्नु भएको हो। उक्त पत्रिका की सम्पादिका लक्ष्मी राणा ज्यूको अनुमतिमा ध्रुपद गुरुकुल काठमाडौंले विद्युतीय माध्यामबाट पुनः प्रकाशन गरेको हो। फोटो सौजन्यः  पुरुषोत्तम शमशेर राणा)

नेपालमा भारतीय संगीतज्ञको आदर र गुणीहरूको समादर हुन्छ भन्ने कुरा भारतका कलाविद (साधक) लाई थाहा थियो । त्यसैले यस हिमालयको देशमा भारतीय कलाविद्हरूको आवागमन गोर्खाली राजाले काठमाडौं विजय गर्नु भन्दा अघिदेखि नै हुन लागेको थियो । यहाँको सुन्दर नैसर्गिक र संगीतमय परिवेश, तीर्थ महात्म्य, राजदरबारको उदार दक्षिणा आदि अनेक आकर्षणले गर्दा भारतवर्षका गायक र बादकहरू युगयुगदेखि नेपाल आइरहन्थे । उनीहरू पोखरा,गोर्खा अथवा काठमाडौंमा बसे कोही स्थायी र कोही अस्थायी रूपमा । त्यसो हुँदा यो हिमाली राज्य संगीत क्षेत्रमा ऐश्वर्यमय हुन गयो । उनीहरू राग संगीतका दिक्पाल थिए । भारतीय संगीतको मूल धारालाई उनीहरूले यहाँ विस्तृत गरे । जस्तै, स्वनामधन्य तानसेनका मावली वंश महागुणी ध्रुपदी गदाधर मिश्र तानसेनका मामा थिए। ग्वालियर छेउको विहटग्रामका हुन यी संगीताचार्य । भानिजको वंश पछि मुसलमान भए तापनि गदाघरको परिवार भने सधैं आफ्नै धर्ममा अधिष्ठित थियो । यी मिश्र वंशी पुरुषानुक्रमले सङ्गीतको साधनामा मग्न थिए तापनि बादशाही संसर्गबाट यिनीहरू सधैँ टाढा रहन्थे । गदाधरकै झैं उनकै वंशका केही उत्तर पुरुषहरू भारतीय समकालीन श्रेष्ठ गुणीहरू मध्ये सुप्रसिद्ध हुन सक्दथे, तर बादशाही आनुकूल्यको अभावले गर्दा उनीहरूको ज्ञान रश्मि उस्तो चम्किन पाएन । तानसेनको यो मावली वंश रीतिपूर्वक कलाविद् नै थिए तापनि सङ्गीतलाई उनीहरूले जीवनमा वृत्ति ( पेशा ) को रूपमा लिएनन् । उनीहरू प्रसिद्ध नहुनुको अर्को कारण यो पनि थियो । उनीहरू विवाह गर्दथे हो, तर धेरै कुरामा संसार विमुख थिए। उनीहरूका संगीत-जीवन धर्म-चर्चाको विषय बनेर मन्दिर र देवस्थलहरूसित संलग्न थियो । त्यसैले संगीतमा प्रवीण भए पनि उनीहरू यसको आकांक्षा राख्दैनथे । बेग्ला बेग्लै कालमा यस वंशका श्रेष्ठ प्रतिभाहरू- गदाधर मिश्र, दामोदर मिश्र (राग दर्पण- ग्रन्थका लेखक), हरिहर मिश्र, लक्ष्मणदास आदि थिए । यिनीहरू मध्ये हरिहर मिश्र चाहिँ नेपालमा आएर स्थायी रूपमा बसोबास गर्न लागे । कुनै दरबारमा तिनी नियुक्त नभई प्रसिद्ध तीर्थ मुक्तिनाथका नजिकै पोखराको उत्तरखण्डमा अवस्थित बाटुले चौर गाउँमा बसे । त्यहीं उनको सम्पूर्ण संगीत जीवन बित्यो । उनैको वंशमा उत्तरकालका संगीताचार्य लक्ष्मणदासको जन्म नेपालमै भयो । पछि यी लक्ष्मणदासले धेरै वर्षसम्म भारतवर्षका विभिन्न तीर्थस्थलको भ्रमण गरे । त्यस बीचमा उनी विन्ध्याचलमा धेरै बसे र पछि नेपाल राजदरबारमा आएर बसे । राजदरवार र राणा दरबारको प्रसंगमा लक्ष्मणदासको परिचय पछि दिइने छ ।

सदारङ्गले पनि नेपालमा अवस्थान गरेका थिए । तानसेनका पुत्रहरू जस्तै, छोरी सरस्वतीको वंशमा पनि धेरै गुणीहरुको जन्म भएको थियो बेग्ला बेग्लै कालमा।  छोरीको वंशमा जन्मेका कलाविद्हरूमध्ये सदारङ्ग सायद सर्वश्रेष्ठ प्रतिभा थिए । उनको असल नाम नियामत खाँ थियो तापनि मुगल बादशाह महम्मद शाह रंङ्गिलाले दिएको उपाधि "शाह सदारंग" नामले उनी परिचित छन् । घराना तालिममा उनी वीणाकार ध्रुपदी थिए । त्यसबाहेक आफ्नै प्रतिभाले गर्दा उनको वंशमा उनले खयाल प्रवर्तन गरेका थिए । भारतीय खयाल-संगीतका प्रमुख ( अन्यतम ) प्रचलनकर्ताको रूपमा सदारङ्ग चिरस्मरणीय छन् । ग्वालियर घरानाको खयाल उनकै शिष्य धारामा संगठित छ भन्ने प्रसिद्ध छ । सदारङ्ग डेढ वर्षसम्म बसेका थिए नेपालमा-गोर्खाली राजाको दरबारमा । तर यो कुरा गोर्खाली राजाले काठमाडौं विजय गर्नु भन्दा अघिको हो । त्यसवेला उनीहरू (शाहवंश) गोर्खामै रजाईं गर्दथे । अर्थात् १७६८ सन् भन्दा अघि सदारङ्ग गोर्खाको राजदरबारमा बसेर गएका थिए । राजपुतनाबाट आएर जसले पहिले गोर्खामा र पछि सम्पूर्ण नेपालमा राज गर्न लागे तिनै गोर्खा राजसभामा बसे सदारङ्ग । गोर्खामा शाह वंशको दरबार थियो तापनि जस्तो हनुमान ढोका समृद्ध छ त्यस्तो त्यो

थिएन । तर त्यस गोर्खाली दरबारमा संगीत चर्चाको अनुकूल प्रतिष्ठान र परिवेश छ भन्ने कुरो सदारङ्गले भारतमै थाहा पाएका थिए । नभए त्यति टाढा पर्वत पहाडको त्यस राज्यमा जाने थिएनन तिनी । कहिले कुन राजाका पालामा सदारङ्गले डेढ वर्ष शाह दरबारमा बिताए भन्ने कुरा इतिहासको गर्भमा अलिखित रूपमा बिलायो तापनि नेपालको दरबारी संगीत जगत्‌मा श्रुति स्मृतिको रूपमा जीवित छ सदारङ्गको एउटा गीतको अनुष्ठान । उनको आफ्नै रचना, कौशिकी कनाडाको यो खयाल सुनाएर त्यस रातको गोर्खाली दरबारलाई उनले मुग्ध पारेका थिए -

मेरो पीर अजर बजु
सुधा हूँ मै सब मनके काम
जोइ जोइ धावत सोइ सोइ पावत
नियामत देत भर राम !

गीतको अन्तिम चरणमा सदारङ्गको साटो नियामत नाम नै आएको देखिन्छ । उसो भए के यसो भनौं- उनी शाह सदारङ्ग" उपाधि पाउनु भन्दा अघिनै नेपालमा आएका थिए र यो रचना त्यसै बेलाको हो ? किटेर केही भन्न सकिँदैन यस विषयमा । तर जे होस नेपालमा तिनी केही समयसम्म थिए र उनका कुनै शिष्य वा उत्तराधिकारी त्यहाँ थिए वा थिएनन् भन्ने कुरा थाहा पाइँदैन । त्यसको केही वर्ष पछि यो हिमाली संगीत राज्यमा तानसेनका पुत्र वंशीय ध्रुपद गुणी करीम आएका थिए। तिनी राजपुतनाको प्रसिद्ध जयपुर दरबारमा पनि केही कालसम्म थिए । करीम सेन नेपाल आउनुभन्दा अघि नै गोर्खाली राजाले काठमाडौं विजय गरिसकेका थिए। हनुमान ढोकामा उनीहरूको दरबार थियो । काठमाडौंमा प्रथम गोर्खाली राजा पृथ्वीनारायण शाह को भइसकेको थियो र त्यसबेला रण बहादुर शाह सिंहासनमा होइबक्सिन्थ्यो । करीमसेन राजदरबारमा नियुक्त भए । राणा दरबारको स्थापना भने त्यस भन्दा पनि धेरै पछि उन्नाइसौं शताव्दीको द्वितयार्ध्द मात्र भएको हो । वृद्ध अवस्थामा आएका थिए करीमसेन नेपालमा र पनि सदारङ्गभन्दा धेरै प्रायः छ वर्ष उनी यस देशमा बसे । यस देशबाट जान लाग्दाको एउटा मूल्यवान सम्वाद छ । दरबारबाट जानुभन्दा अधि राजालाई आफ्नो तानपुरा उपहार दिंदै उनले भनेको थिए- यो तानपुरा स्वयं तानसेनको हातको यन्त्र हो । यो तपाईं संग रहोस् ! तपाईले यसको मर्यादा राख्न सक्नुहुनेछ ! हाम्रो वंशमा यसबेला कलह चलिरहेको छ । हामीसंग रहंदा यो यन्त्रको के हाल हुने हो- के थाहा ? त्यसो हुनु भन्दा तपाईंसंग रहेकै जाती । नेपालका राजाले तानसेनको त्यो तानपुरा सादर-ग्रहण गरिबक्स्यो । पछि करीमसेनबाट तानपुरा उपहार पाएको मिति त्यस यन्त्रमाथि सूनको पातामा लेखाइबक्स्यो । राजदरबारमा तानसेनको त्यो तानपुरा यत्नपूर्वक राखियो । तानपुराको वैशिष्ठ्य के थियो भने त्यसको तुम्बा काठको भएर पनि साह्रै हलुङ्गो र आवाजमय थियो ।

यसरी हरिहर मिश्र, इनायत खाँ (सदारङ्ग) र करीमसेन बेग्ला बेग्लै समयमा पोखरा (कास्की) गोर्खा र काठमाडौंमा आएका थिए । अन्तिम दुईजना चाहिं राज दरबारमा थिए । जुन गोर्खाली राजाका दरबारमा सदारङ्ग र करीमसेनले बस्ने सौभाग्य पाए त्यसै वंशमा त्यसपछि संगीत प्रेमी भइबक्स्यो राजेन्द्र विक्रम शाह (१८१६-४७इस्वी) राजेन्द्र विक्रम शाह संगीतज्ञहरूका पृष्ठपोषक भइबक्सन्थ्यो । उहाँको दरबारमा भारतीय संगीतज्ञहरूको आवागमनको कुरो उस्तो थाहा पाइदैन तापनि स्थानीय कलाविद्हरूले भने धेरै स‌द्भावना पाएका थिए। ती संगीतज्ञहरूमा भारदारहरू नै प्रमुख थिए । भारदारको अर्थ नेपालमा उच्च पदमा रहेका राज-कर्मचारी हो । राजेन्द्रको सभामा जो भारदारहरू थिए, तिनीहरूले संगीतलाई वृत्तिको रूपमा लिएका थिएनन् तापनि अमल संतीतज्ञ थिए । संगीतमा निपुण हुनु नै उनीहरुको उच्चपद प्राप्त गर्ने योग्यता ठानिन्थ्यो । अर्थात, संगीतको ज्ञान नहुँदा कसैले उच्च पद प्राप्त गर्न सक्दैनथे । भारदारहरू राजाकै वरिपरि हुन्थे र उनीहरू राजाको संगीत-प्यास मेट्दथे । त्यसैले पनि उनी सगीतज्ञ हुनु आवश्यक थियो । उहाँका पुत्र सुरेन्द्र विक्रम शाहबाट पनि संगीतज्ञ भारदारहरूले कृपा प्राप्त गरेका थिए । संगीतज्ञ हुन नसक्दा उहाँको शासनमा पनि भारदारहरूले उच्च पद पाउँदैनथे ।

अझ सुरेन्द्र विक्रम शाह आफै संगीतज्ञ होइबक्सिन्थ्यो । उहाँ गीत गाइबक्सिन्थ्यो र संगीततत्व माथि एउटा ग्रन्थ पनि लेखिबक्सेको थियो । गोर्खाली राजवंशमा उहाँ नै सबै भन्दा बडा संगीतज्ञ तथा संगीत प्रेमी भइक्सिन्थ्यो । काठमाडौंमा संगीत चर्चाको श्रीवृद्धिका लागि उहाँ फेरि सचेष्ट भइबक्स्यो । उहाँको दरबारको प्रारम्भमा आचार्य स्थान प्राप्त गर्ने कलाविद् थिएनन् नेपालमा। त्यसैले उहाँबाट तानसेनका मावली वंशका महागुणी लक्ष्मणदासलाई काठमाडौं दरवारमा फिकाउने काम गरिबक्स्यो । अघि नै भनिएको छ- लक्ष्मणदासको जन्म नेपालमा भएको भन्ने कुरा । भारतमा गई धेरै कालसम्म बसोबासो गरे तापनि उनको लागि काठमाडौं अज्ञात थिएन । सुरेन्द्र विक्रमबाट पनि उनको कुरा थाहा पाइबक्सेको थियो। उहाँको निम्तो जुनवेला लक्ष्मणदाससम्म पुग्यो त्यसवेला उनी वाराणसीमा बस्दथे । त्यस भन्दा अघि उनी विन्ध्याचलमा थिए । लक्ष्मणदासको संगीत शिक्षा र साधना धेरै जसो विन्ध्याचलमै भएको थियो । विन्ध्याचलको मन्दिर संगीतको इतिहासपूर्ण स्थान हो, जसको परिचय बाहिरको संसारले राम्रो थाहा पाउँन सकेको छैन ।

मध्ययुगका अर्का एकजना भारतीय इतिहास प्रसिद्ध गायक थिए - बैजू बावरा । विन्ध्याचलको संगीत परम्परा तिनै बैजु बावराका शिष्य धारामा गठित र संरक्षित थियो । बैजु बावरा आफू जस्ता संसार-विरागी साधु प्रकृतिका साधक थिए उनका शिष्यहरू पनि उस्तै थिए । त्यहाँको मन्दिरलाई केन्द्र गरेर नै उनीहरूक संगीत-जीवन मौलाएको थियो । उनीहरूले जुन स्तरको संगीत चर्चा गर्दथे त्यो कुनै वृत्ति-वाल संगीतज्ञको भन्दा कुनै गुणले हेय थिएन । बैजु बावरा जस्ता संगीताचार्यको धागा धेरै कालसम्म अनेकौं श्रेष्ठ संगीतज्ञको साधनामा संरक्षित हुँदै आएको छ । बैजु बावराको विन्ध्याचल मन्दिरलाई केन्द्र गरी माथि उठेका उनका शिष्यहरूमा ब्रिजमोहन साधु थिए एकजना गुणी उत्तर साधक । ब्रिजमोहनका शिष्य शिवमोहनले पनि आफ्ना गुरुका सुयोग्य शिष्यका रूपमा त्यस मन्दिरमा अवस्थान गरेका थिए । ईश्वरको प्रार्थना र भजन-पूजनको अंगस्वरूप जुन प्रथा बैजु बावराबाट थालिएको थियो त्यो शिवमोहनसम्म पनि सुरक्षित नै रह्यो ।

लक्ष्मणदासको संगीत शिक्षा आफ्नै घरमा भएको थियो तापनि शिवमोहन साधुको अधीनमा रहँदा सम्पूर्ण भएको थियो । विन्ध्याचलको त्यही मन्दिरमा धेरै दिनसम्म संगीत साधनामा आत्मनियोग गरेका थिए लक्ष्मणदासले । सुरेन्द्र विक्रम शाहको निमन्त्रणामा धेरै दिन पछि उनी फेरि नेपाल फर्के र काठमाडौंको राजदरबारमा सामेल भए । उनी नेपाल मै विवाह गरेर स्थायी रूपमा बसो बासो गर्न लागे । त्यसपछि दरबारको संरक्षणमा उनको निर्देशनमा नियमपूर्वक संगीत शिक्षाको व्यवस्था भयो । नेपालमा लक्ष्मणदासका शिष्यहरू धेरै जसो भारदार थिए ।तिनीहरू मध्ये एकजना संग्राम शूर प्रतिभावान गायक भएर निस्के । पछि तृतीय राणा प्रधान मन्त्री वीर सम्शेरको प्रसंगमा यी संग्राम शुरको जीवनको करुण परिणतिको चर्चा गरिनेछ ।

लक्ष्मणदासको आगमनले काठमाडौंको संगीत दरवार तथा नेपालको गौरवपूर्ण युग प्रारम्भ भयो । उनी नेपाल आउँदा प्रथम राणा प्रधानमन्त्री जंगबहादुरको बेला थियो। जंगबहादुर संगीत मन पराउँदैनथे । उनको दरबार प्रायः संगीत बर्जित थियो भन्ने सुनिन्छ । राणाहरूको संगीत दरबारको स्थापना हुन अझै बाँकी थियो । नेपालमा संगीतज्ञहरूको श्रेष्ठ पृष्ठ पोषक त्यसबेला सुरेन्द्र विक्रमको राजदरबार नै थियो । दरवारका संगीताचार्य लक्ष्मणदास आयुष्मान् थिए र जंगबहादुर पछिका दुई जना राणा प्रधान मन्त्रीको दरबारसित पनि उनको संगीत जीवन संयुक्त थियो । तीनवटा श्रेष्ठ दरबार आफ्नो नेतृत्वपूर्ण प्रतिभाले चम्काई पछि स्वयं आफू संगीतको एउटा प्रतिष्ठानमा परिणत भएका थिए लक्ष्मणदास ।

उनले रचेको नेपालमा प्रचलित उनको एउटा गीत यहाँ उद्धृत गरिन्छ -

जयावती ।। सादराताल
करो राम छव धाम श्रीराम कट पीत पट भरत वल चाप सर कर शोहाये ।। 
बरण नभ नील धर मुकुट मणि चारुदल बदन अगणित मदन मणि छपाये ॥ 
जानु पर दोउकर रुचिर अङ्ग दिनकर कदली खन्चा निरखि जङ्ग लसाये ।।
चरण पंकज अरुण मधुप सनाकादि मुनि सिंह तल चित्त रज सम लगाये ।।

उनीसँग जजसले संगीत शिक्षा पाए, संग्राम शूर जस्ता प्रमुख भारदारहरू बाहेक पहिले नै नाम लिनु पर्दछ बडीहसनको (ठूली हसिना) । अरु एउटी सानी हसिना पछि बीर सम्शेरको दरबारमा प्रसिद्ध भएकी थिइन् र नै उनलाई बडी इसिना भनिन्थ्यो ।

 असामान्य गायिका थिइन् ठूली हसिना । राणा दरबारहरूकी नारी शिल्पीहरू मध्ये यिनी श्रेष्ठ प्रतिभा थिइन् । ध्रुपद र प्रबन्ध संगीतमा उनको जस्तो पारदर्शिता अरू अनेक वस्तादहरू पनि देखाउन सक्षम थिएनन् । जस्तो साधिएको कण्ठ थियो उस्तै अधिकार थियो उनको राग विद्यामा पनि। प्रबन्ध संगीतमा जयदेवको गीत गोविन्द पदावली गीतमा ठूली हसिना सिद्धहस्ता थिइन् । खयाल पनि घेर-थोर गाउँथिन् । अति आयुष्मती भरर बीसौं शताब्दीको पहिलो चरणसम्म थिइन् ठूली हसिना । रणोद्दीपको दरबारदेखि बीर सम्शेरको दरबार र त्यसछि बीर सम्शेरको मृत्यु पछि पनि निक्कै वर्ष दरबारी गायिकाको रूपमा ठूली हसिनाको जीवन चलिरहेको थियो । लक्ष्मणदासको तालीम र नेपाल संगीत-दरबारकी एक श्रेष्ठ परिचय हुन् ठूली हसिना । यति हुँदा पनि, बृहत्तर संगीत क्षेत्रमा आफू र अरू जस्तै उनको संगीत जीवन पनि अँध्यारैमा लुप्त भयो । हसिनाकै प्रसंगमा नेपाल दरबारका यी विशेष खालका नटुवीको कुरा यहाँ उल्लेख गर्न सकिन्छ । तिनीहरूलाई तालीमे भनिन्थ्यो । दरबारमा नियुक्त भएका गुणीरुबाट तिनीहरूले नियमपूर्वक कण्ठ-संगीत र यन्त्र संगीत सिक्नु पर्दथ्यो । यसरी नै तालीमेहरू संगीतमा निपुण हुन्थे । तर उत्तर भारतका बाईजीहरू र यी तालीमेहरूमा भिन्नता छ । बाईजीहरू झैं संगीतलाई नै वृत्ति बनाएर विभिन्न मञ्चमा संगीत प्रस्तुत गर्ने रीति यिनीहरूमा थिएन । तालीमेहरू दरबारपतिका रक्षिता हुन्थे र बाईजीहरूको क्षेत्रमा भने त्यसो भन्न सकिंदैन । दरवारमा संगीत प्रस्तुत गर्नु बाहेक नेपालमा यी कलावतीहरूको अर्को संगीत जीवन हुँदैनथ्यो। प्रतिभाशालिनी भए पनि त्यसै त्यसै उनीहरूको परिचय लुप्त हुन्थ्यो - हराउँथ्यो । यिनीहरूको श्रुति-स्मृतिको जगतसम्म पनि रुद्ध छ । हसिना जस्ती एक दुईवटी बाहेक अरूको नामसम्म कसैले थाहा पाएनन् । 

 ठूली हसिना पछि अरू एकजनाका संगीत गुरु भन्न सकिन्छ लक्ष्मणदासलाई । तिनी थिए तानसेनका पुत्र वंशीय ताजखाँ- ध्रुपदी र धमार । उनी जस्ता भारत प्रशिद्ध कलाविद् पनि लक्ष्मणदासका शिष्य थिए भन्ने कुरामा धेरैले शंका गर्लान् । कारण के भने, तानसेनका वंशजहरू घर बाहिर शिक्षा लिदैनथे । झन् ताजखाँ जस्ता गुणीका बारेमा त कुरै थिएन, ध्रुपद र धमारमा उनको विद्वताले गर्दा उनले हिन्दूस्थानका संगीतज्ञहरूमा नेतृत्वको स्थान ओगटेका थिए । तानसेनका एकजना सुयोग्य वंशजको रूपमा पनि सम्मानित थिए उनी । नवाव वाजिद अलिको मेटियाब्रुज दरबारमा तिनी धेरै दिनसम्म बसेका थिए। दरबारका अरू कलाविद्हरु उनी दरबारमा आउँदा सबै उभिन्थे र 'उस्तादका औलाद" (गुरुका सन्तान) भनेर सम्मान प्रदर्शन गर्दथे ।

त्यस्ता ताजखाँले पनि नेपाल दरबारमा बस्दा धेरै कुरा लक्ष्मणदासबाट सिकेका थिए । ताजखाँको घरानामा खयाल गीत थिएन त्यसैले उनले लक्ष्मणदासबाट खयाल सिक्नु परेको थियो । जुनसुकै रागमा पनि केही जान्ने इच्छा हुनासाथ उनी लक्ष्मगदास कहाँ पुग्दथे र त्यो सिक्दथे । राग विद्याका भण्डार थिए लक्ष्मणदास । ताजखाँ जुनबेला नेपाल दरवारमा श्रेष्ठ कलाविद् थिए र लक्ष्मणदास जुनबेला वृद्धावस्थाले गर्दा अवकास लिएर बसेका थिए, त्यसबेला पनि उनी शिक्षार्थीको रूपमा उनी कहाँ आउँथे । यसबाट पनि संगीत गुरु लक्ष्मणदासको महिमा बुझ्न सकिन्छ । अवश्य, ताजखाँलाई लक्ष्मणदास उनका मावली वंशज हुन् भन्ने थाहा थियो, नत्र उनी शिक्षार्थीको रूपमा उनको सामु सायद जान्थे वा जान्नथे भन्ने कुरामा शंका छ ।

राजा सुरेन्द्र विक्रमको दरबारको उल्लेख हुँदा लक्ष्मणदासको कुरा आएको थियो र अब फेरि उही प्रसंगमा फर्कौं । सुरेन्द्र विक्रम पछि राजदरबार लाई निष्प्रभ पार्दै स्वर-दीप्तिले जगमगाउन लागे राणाहरूका दरबार । रणोद्दीपका पालामा प्रारम्भ भएर वीर सम्शेरको पालामा राणा दरबारले ठूलो श्रीवृद्धि गऱ्यो । वीर सम्शेर आफै संगीतज्ञ थिए । त्यस बाहेक उनका दरबारमा यस्ता यस्ता गुणीहरूको समावेश उनले गराएका थिए। यस्ता यस्ता गायक-वादक हरू एक समयमा उनका दरबारमा रहन्थे जसका लागि उनलाई नेपालका अकवर भन्न सकिन्छ । संगीत रत्नहरूको समागम गराउँनमा सायद उनले नवाव वाजिद अलिलाई पनि जितेका थिए ।

उन्नाइसौं शताब्दीको अन्तिम चरण राणा दरबारको महान गौरवको काल हो। यस्ता औधि कलाविद्हरूको त्यहाँ जमघट हुनुको ऐतिहासिक कारण पनि छ । १७४८ इस्वीमा महम्मद शाहको मृत्युपछि दिल्लीको वादशाही दरबारको एक प्रकारले अन्त भयो । त्यसै बेलादे‌खि तानसेनवंशीय र अरू अरू दरबारी गुणीहरू उत्तर र मध्य भारतका सा-साना राज्यका दरबारमा गई आश्रय लिन लागेका थिए । यही क्रमले लखनऊ दरबार नवाव वाजिद अलीको समयमा दरबारी कलाविद्हरुका लागि सबभन्दा ठूलो आश्रयस्थल बन्न पुगेको थियो । त्यसपछि नवावको निर्वासनले गर्दा १८५६ इस्वीमा लखनऊ दरबारको पनि पतन भयो । दरबारमा निर्भर गर्ने संगीतविद्हरु फेरि छरिए काशी नरेश, रामपुर, वेतिया, मेटियाब्रुज आदि दरबारहरूमा र कोही चाहिं कलकत्ता र बङ्गालका संगीत प्रेमी धनाढ्यहरूका संगीत सभाहरू तिर । १८८७ इस्वीमा नवाव वाजिद अलिको मृत्युपछि मेटियाब्रुज दरबार पनि बन्द भयो र कलाविद्हरू नेपाल दरबारको दक्षिणा-आश्वासनले गर्दा यो पहाडी राज्यतिर आउँन थाले । अनि उनीहरूलाई आश्रय दिन सक्ने राणाहरूका दरबार पनि प्रशस्त भइसकेका थिए । प्रधान सेनापति, राज कोषाध्यक्ष, राजगुरु, प्रत्येककै एक एकवटा निजी संगीत दरबार थिए र त्यहाँ नियुक्त हुन्थे गायक वादकहरू । त्यहाँ त्यसवेला प्रधान मन्त्री जस्तै प्रधान सेनापति, राजकोषाध्यक्ष, राजगुरुहरू प्रायः सबै जसो नै संगीतज्ञ थिए र त्यसो नभए पनि संगीत पारखी त थिए नै। त्यस बाहेक राजदरबार त झन् छँदै थियो । सबै भन्दा ठूलो दरबार थियो राणा प्रधान मन्त्रीको। उनीहरूका बेग्ला बेग्लै समयमा बेग्ला बेग्लै दरबार थिए । जंगबहादुर र रणोद्दीपका पालामा वाग दरबार, वीर सम्शेरका पालामा नारायणहिटी दरबार त्यसपछि सेतो दरबार र रातो दरबार । लक्ष्मणदास पहिले सुरेन्द्र विक्रमको राजदरबारमा र त्यसपछि रणोद्दीप र अन्त्यमा वीर सम्शेरको दरवारमा थिए । वीर सम्शेर जब १८८५ इस्वीमा प्रधान मन्त्री भए त्यसवेला लक्ष्मणदासको उमेर ६५ वर्ष पुगिसकेको थियो। दरबारबाट भने त्यसको पनि निकै दिनपछि उनले अवकास लिएका थिए ।

हरिहर मिश्र, सदारङ्ग, करीमसेन, लक्ष्मणदास देग्ला बेग्लै समयमा नेपाल आएका थिए । तर लक्ष्मणदासको जीवनको अन्तिम भागतिर भने भारतका धेरै कलाविद्हरुको वीर सम्शेरको दरवारमा समागभ भएको थियो । भारतवर्षबाट यसरी दरबारी कलाविद्हरूको नेपाल आगमन वीर सम्शेरको पालाभन्दा अघि पनि भएको हो। उत्तर भारतमा सिपाही विद्रोह हुनुभन्दा एकवर्ष अघिदेखि नै यो धाराको सूत्रपात भएको थियो । यही पर्वमा लक्ष्मणदासकै प्रायः समकालीन अर्का एकजना उस्ताद नेपाल आएका थिए, तर राजदरबारमा होइन । घटना विपर्यय र अनियन्त्रित भएर नै उनी यहाँ आएका थिए । उनको नाम दुन्देखाँ थियो र गुणी खयाल र टप्पा गायक थिए । अयोध्याका नवाव वाजिद अलिका तिनी जेठान थिए । १८५६ इस्वीमा निर्वासित नवाव वाजिद अलि लखनऊबाट गए, त्यसैबेला आश्रयच्युत भई दुन्देखाँ नेपाल पसेका थिए । उनका साथमा उनकी स्वास्नी पत्ति थिइन् र उनी पनि गायिका थिइन् । नवाव वाजिद अलिकी बेगम राजिया वेगम, जो दुन्देखाँकी बहिनी थिइन्, पनि आएकी थिइन् । राजिया बेगम पनि अति उच्चाङ्गकी गायिका थिइन् । दुन्देखाँले आफूसँग नवावले लेखेका र संग्रह गरेका संगीतका केही पुस्तकहरू पनि ल्याएका थिए ।

 यी सबै साथमा लिएर दुन्देखाँ नेपाल आए । त्यसपछि नै आरम्भभइहाल्यो सिपाही विद्रोह । नेपालमा त्यसबेला जंगबहादुरको प्रधान मन्त्रीत्वको काल थियो र उनी अँग्रेजका मित्र थिए । (तैपनि नाना साहेव जस्ता अरू केहीलाई उनले नेपाल आउने अनुमति दिए। तर त्यो स्वार्थवश हो। ती कुराको आलोचना गर्ने अवकास यहाँ छैन।) यी सबै कुराको विवेचना गरेर दुन्देखाँले आफूलाई गोप्य राखे । काठमाडौंको दरबार गायकहरूको पृष्ठपोषक हो भन्ने थाहा पाएरै पनि उनी त्यहाँ आएनन । लखनऊको नजिक पर्ने पश्चिम नेपालको बुटौल भन्ने ठाउँमा आफ्नी स्वास्नी र बहिनी सहित दुन्देखाँ स्थायी रूपले बसो बासो गर्न लागे । त्यसपछि केही समयमा विद्रोहको आगो निभ्यो । निरापद भयो अँग्रेजको राज्य । त्यसको पनि निकै पछि जंगबहादुरको मृत्यु भयो द्वितीय राणा प्रधान मन्त्री भए रणोद्दीप । रणोद्दीपकै पालामा स्थापित भयो राणाहरूको संगीत दरबार । रणोद्दीपका प्रधान सेनापति थिए उनकै भाइ धीर सम्शेर । धीर सम्शेरका छोरा थिए वीर सम्शेर । रणोद्दीप पछिका प्रधान मन्त्री वीर सम्शेर शक्ति हातमा पर्नु भन्दा अघिदेखि नै संगीतका अनुरागी थिए । दुन्देखाँलाई वीर सम्शेरल नै बुटौलबाट बोलाएर काठमाडौंमा आश्रय दिए । आफ्नो दरवार भएपछि यी लखनऊका उस्तादलाई गायकको रूपमा नियुक्त गरे। दुन्देखाँको उमेर ढलिसकेको भएर्पान संगीत-क्षमता अझै थियो । वाजिद अलिका ग्रन्थहरू सहित दरबारी गायकको रूपमा उनी जीवनभरी बसे काठमाडौंमै । उनका ती घेरै जस्तो ग्रन्थहरू दरबारमै रहे । दुन्देखाँ जुनबेला बीर सम्शेरको दबारमा नियुक्त भए, त्यसवेला ताजखाँ सहित मुसलमान कलाविद्हरु नेपालको दरबारमा नियुक्त भएर स्थायी रूपमा बसोबासो गर्न लागेका थिए । उनीहरूका लागि राणाहरूले पहिलो मस्जिद बनाइदिए नेपालमा । त्यसअघि यस राज्यमा मस्जिद थिएन । दुन्देखाँ र ताजखाँ दुवैको कवर (चिहान ) स्वयम्भू नेर अझै पनि छन् । वीर सम्शेरको दरबारको उत्तर कालमा लक्ष्मणदास पनि त्यहीं थिए । पछि बाद्धक्यले गर्दा दरवारमा संगीत प्रस्तुत नगरे पनि समस्त गुणीहरूको नेतृत्व गरी उनी काठमाडौंमै बस्दथे। दरबारमा त्यसवेला श्रेष्ठ कलाविद् थिए ताज खाँ। उनी र दुन्दे खाँ बाहेक अरू जजसलाई लिएर यो नेपाल दरबार ऐतिहासिक हुन पुगेको थियो, ती थिए - बेरेलिका इनायत हुसैन खाँ (रामपुर-सहस्वान घरानाका प्रवर्तक), हिन्दुस्थानमा टप्पा खयालका प्रवर्त्तक प्रसिद्ध हद्दुखाँका जुवाई । 

रामसेवक मिश्र (ध्रुपद र खयालमा), वाराणसीका प्रसिद्ध प्रसद्दु मनोहर घरानाका हरिप्रसाद वा प्रसद्दुका पुत्र तथा शिव सेवक र पशुपतिका पिता ।जयपुरका खग्गे नाजिखाँ (खयालमा), दाक्षिणात्यका वीणाकार भट्ट (वीणावादक र पखवाजमा) नियामित उल्लाखाँ (सरोदमा), बासतखाँका शिष्य, भारतमा सरोद इतिहासका प्रवर्त्तक, करामत उल्ला र कौकव खाँका पिता (पुत्रद्वय पनि नेपालमै थिए ) बलदेव सहाय (तबलामा), वाराणसीका राम सहाय घरानाका गुणी, कण्ठे महाराज, भिखकु, वाचा मिश्र आदिका तबला गुरु ।बडकु मियाँ नामले सुपरिचित आलि महमद खाँ (सुरशृङ्गारमा) तानसेनका पुत्रवंशीय बासततखाँका जेष्ठ पुत्र ।हायदर खाँ (खयालमा) वाराणसीका जगदीप मिश्र, ( खयाल, टप्पा, ठुमरी र कत्थक नृत्यमा ) पछि कलकत्तामा भौजुद्दिनका प्रबल प्रतिद्वन्दी भएका थिए र श्यामलाल क्षेत्री आदिको चक्रान्तमा परी फेरि नेपाल फर्किए । नेपालका गुणीहरूमध्ये श्रेष्ठ गायक अन्धा सुरदास थिए । यस बाहेक केही अरू संगीतविद्हरु पनि नेपाल आएका थिए । जस्तै - वीणकार बन्दे अलिखाँ, ध्रुपदी गुलाम होसेन ।

अनि सबैका मुकुटमणि स्वरुप त्यसबेला पनि जीवित थिए लक्ष्मणदास । अति वृद्ध अवस्थामा पुग्नाले दरबारको भत्ता खाएर संगीतका महाकोष स्वरूप उनी बसेका थिए। यिनीहरू प्रायः सबै नै भारतका प्रथम श्रेणीका कलाविद् थिए । दरबारमा संगीत प्रस्तुत गर्नु बाहेक नियमपूर्वक संगीत शिक्षा पनि यिनीहरू दिन्थे । त्यो शिक्षा वा तालीम दरवारका नटुवीहरुले लिन्थे। अधि तालीमे नामले उनीहरूको चर्चा गरिएको छ र यहाँ पनि अझ केही गरौं।

रणोद्दोष र वीर सम्शेरका पालादेखि यी संगीत नियुणाहरूलाई दरबारमा राख्ने प्रथा चलाइएको हो। दरबारका जम्मै ठूला विद्वानहरूले उनीहरूलाई राम्ररी तालीम दिन्थे । लक्ष्मणदासकी शिष्या ठूलो हसिना जस्तै वीर सम्शेरका दरवारका तीनवटी गायिकाले नियमपूर्वक खयाल र टप्पा सिकेका थिए दुन्दे खाँसँग । ताजखाँकी शिष्या सानी इसिना (छोटी हसिना) अति रूपवती भएकोले हसन परी नामले पनि परिचित थिइन् । हसिना बाहेक अरू चार पाँचवटी तालीमे थिए ताजखाँका शिक्षाधीनमा ।

यसरी नै नियामत उल्ला खाँ कहाँ दुईवटी शिष्या थिए- एउटी सितारमा र अर्की सरोदमा। रामसेवक मिश्रसंग चारवटी तालीमे गीत सिक्दथे । वीणकार भट्टसँग पखवाज सिक्दथे तीनवटी शिष्याले । बलदेव सहायसँग दुईवटी तालीमेले तबलावादन सिक्दथे । नेपालमा कलावतीहरुले यस्ता यस्ता विद्वानहरुसँग रोतिपुर्वक संगीत सिके- संगीत जगतमा यही नै एउटा असाधारण घटना हो। यी वस्तादहरुमा दुई एकजना कुनै सभामा हुनु नै गौरवको कुरो हुन्थ्यो तर यस दरबारमा भने तिनीहरू एउटै कालमा एकैसँग थिए । यसबाट त्यसबेला नेपालको दरबारी संगीतको स्तर कति उच्चस्तरको थियो भन्ने अनुमान गर्न सकिन्छ । यस्तो समृद्ध युगको कुनै परिचय वा इतिहास भावी कालका लागि लेखेर राखिएन । केवल श्रुतिको माध्यमबाट केही आजको यो कालसम्म बाँचेको छ ।

यस्तै एकदिन एउटा मजलिस बसेको हुन्छ दरबारमा । जयपुरका खयाल गुणी घग्गे नाजिर खाँ गाउन लागेका हुन्छन् । श्रोताहरूमा थिए दरबारका प्रधान कलाविद् ताज खाँ लगायत अरू धेरैजना । नाजिर खाँले खयाल राम्रै गाए हो तर त्यसको विस्तार भने धेरै गरेनन् । चाहेमा उनले विस्तारको कला अझ देखाउन सक्दथे । गीत सकिने वित्तिकै ताजखाँले गायकतिर हेरेर मन्तव्य दिए - यो त अचार भयो । नाजिर खाँले बुझेनन्, उनले के भन्न खोजेका हुन् । सोधे- मतलब ? ताजखाँले संक्षेपमा व्याख्या गरे अलि अलि मीठो चीज तर पेट भरेन । नाजिर खाँले फेरि गीत लम्बाएर गाए। यसपल्ट खूब तान मिलाएर निकै बेरसम्म गाए । ताजखाँ त्यसवेला भावमग्न थिए । गीत सकिए पछि स्यावासी दिँद भने- धेरै राम्रो । नाजिर खाँले कृत्रिम अहङ्कार देखाउँदै सोधे- अहिले ? (अर्थात् के म गाउन नसक्ने हुँ र त्यसो भनेका थियौ ? ताजखाँले भने- अचार जस्तो मात्र नभनिदिएको भए यस्तो गाउँथ्यौ ? त्यसपछि दुवै हाँस्न लागे र उनीहरुको साथ दिए दरबारका अरूहरूले पनि दरबारपति वीरसम्शेरले यो दरबार बसाएका थिए धेरैको लागतमा । लाल दरबारको महफिल (जलसाघर) पनि उनैले बनाउँन लगाएका थिए । उनी संगीत प्रेमी मात्र नभइ गायक पनि थिए । दरबारमा धेरै गुणीहरूका गीत सुन्दा सुन्दै उनी आफैले पनि सिकेका थिए केही। अरूतिर उनको चरित्र जस्तोसुकै किन नहोस, संगीतलाई भने उनले हृद‌यबाट नै रुचाएका थिए । मजलिसमा बसेर नगाए पनि वेला बखतमा ख्याल ख्यालमा उनले गाएका गीत सुरिला हुन्थे भन्ने सुनिन्छ । त्यसको एउटा दृष्टान्त दिउँ । उपलक्ष्य पुत्र तेज सम्शेरको विवाह थियो । दुलही लिएर फर्केको वरयात्रा प्रसादसम्म आइपुगेर टुंगिएको हुन्छ । बाहिरका मानिस गइसके पछि छोरा-बुहारीलाई भित्र्याउने बेलामा वीर सम्शेर आनन्द विभोर भई गीत गाउन लागे । नट मल्लार रागको एउटा चमत्कार खयाल गीत -

"बनरि बिहायणा आयो रे आयो रे नौशाद मेरा।"

उनको स्वतः स्फूर्त गीतले शुभविवाहको आनन्द उत्सव अझ पुलकित पारिदियो । संगीत जस्तै संगीतज्ञहरू माथि पनि वीर सम्शेरको आन्तरिक सद्भावना थियो । राजा सुरेन्द्रको पालाका भारदार, लक्ष्मणदासका शिष्य सुकण्ठ गायक संग्राम शूरको कुरा यस प्रसंगमा भन्न सकिन्छ । संग्राम शूर जीवनको अन्तिम कालमा एउटा ठूलो राजनैतिक काण्डमा मुछिएका थिए र लुक्न वाध्य भएका थिए । वीर सम्शेरले उनलाई बचाउनको लागि यस्तो आदेश दिएका थिए - फलानो दिनसम्म संग्राम शूरलाई भेटिएन भने उसलाई क्षमा गरिदिइने छ । अर्थात् त्यस मितिसम्म संग्राम शूर लुकेर बस्न सके भने त्यसपछि उनको अपराधका लागि उनलाई कुनै दण्ड दिइने छैन । तर संग्राम शूरको दुर्भाग्य, एउटा चाकरको विश्वासघातले गर्दा म्यादको अन्तिम दिनमा उनी पक्राउ परे । उनलाई प्राण दण्ड दिनका लागि भौचा खुसीको बधशालामा लगियो । त्यहाँ लगिदा संग्राम शूरले जिन्दगीको अन्तिम एउटा करुण धामार गाए। उनको त्यो धामार सुनेर उपस्थित सबै मानिसका आँखा आँशुले भरिए । संग्राम शूरलाई वधशालामा लगिएको कुरा सुनेर वीर सम्शेरले मुक्तिको आदेश दिएर पठाए एउटा रिसल्लाको हातमा । वीर सम्शेरका एकजना भाइ थिए संग्राम शुरको विरुद्धमा भएको षड्यन्त्रमा । तिनले त्यस रिसल्लालाई केही समयका लागि रोकिदिए । अन्त्यमा जब वीर सम्शेरको सन्देश भौचा खुसीमा पुग्यो त्यस अघि नै संग्राम शूरको हत्या भइसकेको थियो । त्यसको शोकले गर्दा वीर सम्शेरले सात दिनसम्म दरबार बन्द राखेका थिए ।  

नेपाल दरबारमा वीर सम्शेरको कालमा भएको सबभन्दा स्मरणीय घटना थियो- बगडीको मजलिस । मजलिस नामले यो प्रसिद्ध छ तापनि असलमा यो थियो एउटा विराट् संगीत सम्मेलन - कारण, संगीत अनुष्ठानसंगै कलाविद्हरूको भारतीय संगीततत्व र पद्धतिको विषयमा त्यहाँ कैयौं दिनसम्म आलोचना भइरह्यो। विभिन्न रागरीतिको मेल-बन्धनको प्रयास भएको थियो सर्व सम्मतिले । तराईको वीरगञ्ज नेर छ बगडी । प्रत्येक वर्ष जाडोमा प्रधान मन्त्री र प्रधान सेनापतिहरू दल-वलसहित शिकार खेल्न जान्थे । सामयिक रूपमा शिविर बनाएर उनीहरू त्यहाँ बस्दथे ।त्यसपल्ट शिकारको ऋतुमा वीर सम्शेरले बगडीमा एउटा विराट संगीत सम्मेलनको आयोजन गरे । ठूलो तम्बु टाँगियो । नेपाल र भारतका प्रायः जम्मै प्रसिद्ध गुणीहरुलाई निम्तो गरियो । उनीहरूको पनि सामयिक बसोबासो तिनै शिविरमा भयो ।

उन्नाइसौं शताब्दीको अन्त्यमा पौष महीनामा एक महीनासम्म यो संगीत सम्मेलन चलिरह्यो ।  सम्मिलित भए - लक्ष्मणदास, ताजखाँ, इनायत हुसेन, धग्गे नाजिरखाँ, कालकादिन र विन्दादीन (लखनऊ घरनाका प्रसिद्ध कत्थक नृत्य शिल्पी दुई दाजुभाइ), राम सेवक मिश्र, नियामत उल्ला खाँ, राजिया बेगम, वीणकार भट्ट, महमद खाँ (रामपुरका वीणावादक), जगदीप मिश्र, रहमत खाँ (ग्वालियरका हद्दु खाँका पुत्र), दिव्यदेव शर्मा, (बाराणसीका तन्त्रकार र वेदज्ञ पण्डित) बीरेन्द्र केशरी (तत्कालीन नेपालका श्रेष्ठ पण्डित र संगीतज्ञ) आदि । लक्ष्मणदासले त्यहाँ संगीत प्रस्तुत गरेनन् । त्यसबेला उनी अतिवृद्ध भइसकेका थिए । संगीतका तत्वादिमा केवल आफ्नो मत प्रकाश मात्र गरेका थिए उनले । अरू कलाविद्हरुले मात्र कसैले संगीत अनुष्ठान गरेका थिए कसैले आलोचना। कालकादीन र विन्दादीन त्यसवेला अतिवृद्ध भइसकेका थिए । उनीहरूले भेला भएका गुणीहरूलाई भने - 'हामी रीतिपूर्वक नृत्य प्रदर्शन गर्न यो उमेरमा समर्थ छैनौं र केही भाऊ(मुद्रा) मात्र देखाउने छौं।' बसी बसी नै उनीहरूले आफ्नो भाऊ देखाए र दर्शकहरूले धन्य भने उनीहरूको भाऊ देखेर ।

बगडीको सम्मेलनमा एक महिना भरि संगीतको अनुष्ठान गरेका थिए कलाविद्हरुले । दिउँसो आलोचना सभा बस्दथ्यो । भारतीय संगीतको रीति र प्रकृति विषयमा गुणीहरूको आलोचना सभा हुन्थ्यो । कलाविद्हरूले आ-आफ्नो मन्तव्य प्रकाश गर्दथे । प्राचीन ग्रन्थदेखि लिएर अनेकौं संस्कृत ग्रन्थ बाहेक पनि नवाव वाजिद अलिको ग्रन्थ नाजुवणि आदिकोसम्म चर्चा र परिचर्चा हुन्थ्यो त्यस सूत्रमा । सम्मेलनको आयोजनामा गरिएका आलोचनाको उद्देश्य थियो-भेला भएका गुणीमण्डलीको विचारहरुको समन्वय गरी भारतीय संगीत पद्धतिमाथि एउटा ग्रन्थ तयार पार्ने । यस्तो लक्ष्य लिई एक महिना व्यापी भएको संगीतज्ञहरूको आलोचना र विचारको आदान-प्रदानमा आधार गरी रागसमूहको वर्गीकरण सम्पन्न भयो । रागहरू यस प्रकारले दशवटा मुख्य वर्गमा विभक्त गरिए - कल्याण, भैरव, विलावल, तोडि, सारङ्ग, कनाडा, मल्लार, कोष, शाख र श्री ।

सम्मेलनको मुख्य काम धेरै जसो सम्पन्न भयो तापनि १९०१ इस्वीमा वीर सम्शेरको आकस्मिक मृत्यु हुनाले ग्रन्थ प्रकाश गर्ने काम भने पूर्ण हुन सकेन ।वीर सम्शेर पछि पनि राणाहरूको संगीत दरबार थियो, तर उनको कालमा जस्ता कलाविद्हरूको समागम फेरि कहिल्यै भएन । ठूली हसिना जिउँदै थिइन् त्यसबेला पनि, ताजखाँ थिए, लक्ष्मणदास पनि जीवित नै थिए र अझ दौलत खाँ जस्ता ध्रुपदी पनि थपिएका थिए, तर वीर सम्शेरपछि नेपाल दरबार फेरि कुनै दिन जगमगाउन सकेन । राणा दरबार अथवा राज दरबारमा फेरि त्यस स्तरको संगीत कहिल्यै सुनिएन ।